हली

                  

Hemant 2Bbiwas 300x300

  हली 

जारी बुझ्न आएको पुरानो लोग्नेझै
हिजो मात्रै हो
साहूले एकाबिहानै आएर थर्काएको बाटुलीलाई
आज त जुनसुकै मूल्य चुकाएर भए पनि
पुग्नु छ खेतमा
अनि जोगाउनु छ
पुस्तौअघि भिराइएको उपाधि,
अझै हेर्नु छ पानिमुनिको जून
किनकि
झुप्रो ठडिएको  जमिन पनि त साहूकै नाममा छ

निभ्दै गरेका कोईलालाई
ढाक्दै गरेको तातो खरानीले झै
ढाकिरहेछ साहूको ऋणले जिन्दगी

जसोतसो बिहानैदेखि जोतिरहेछ दुखेको मन
खोलाकिनारको खेतको गरासँग
भोको पेटमा पटुका बाँधेर
सुनौलो बिहानीको पर्खाइमा
बोक्दै छे दुई जीउकी बाटुलीले मलको डोको
र खन्याउँदै छे खेतका गराहरुमा

विज्ञापनिक विश्रामको बेला
समाचारवाचकले फेर्छ जसरी लामो सास
हल्लाउँछ घाँटी, तन्काउँछ जीउ
त्यस्तै गरी तन्काउँँछन् तारे र मालेले जीउ
ओग्राइरहन्छन् परालका त्यन्द्रा चपाउँदै
जब ऊ उडाउँछ तमाखुको धुवाँ
 गराको डिmमा बसेर

घाम नअस्ताउँदै फुकाल्छ हलो र पुग्छ घट्टको दैलोमा
बिहानै राखेको साहूको गहुँको भारी पिस्नलाई
भीडभित्र पनि पल्लो किनाराको बनाइएको ऊ
कतै कुनामा देखिएको एक धूमिल छाया
अन्त्यमा मात्रै आउँछ उसको पालो

रात छिप्पिँदैछ
साथमा
हरियो खुर्सानीसँग पिसेको नून
अनि
रुखका बोक्राझै कोदाका रोटी तताउँदै चपाइरहेछन् एकान्तमा
जुन त्यो दिनको बक्सिस हो साहुबाट पाएको
हेर्न पनि हुन्न उसले साहूको घरको गोरस
रिसाउँछन् साहूका देवता ःबिग्रिन्छ भैसी
किनकि
ऊ पानी नचल्ने जातको मान्छे
ऊ हली

खोलाकिनारको शीत पिएका दाउरा
फ्याँक्दै छन् धुवाँ घट्टको अँगेनाबाट
सुकुमबासी बस्तीमा आगो लाग्दाको झै
निस्किरहेछ मुस्लो
पालैपालो मिच्दै छन् दुबैले आँखा
मानौं,आज मिलेको दुबैलाई
आँसु झार्ने सजिलो बहाना

घुमिरहेछ घट्ट
पिसिँदै छन् एकनासले गहुँका दाना
मुटु फुट्ला झै गरी चलिरहेछ स्याँठ
छानामा उछिट्टिएको खबर बीचबाट
देखिन्छन् स्वर्गका दुई–चारवटा ताराहरु
छेवैमा आएर टिल्पिलाउँछन् जूनकिरी
जसरी टिल्पिलाउँछ सूर्यको पहिलो किरणमा शीत
 कलिलो  बिहानको निधारभरि

भ्यालको खापानजिककै देखिने
निउरोको टुप्पोमा झुन्डिएको शीतको थोपाझैं
झुन्डिरहेको जिन्दगी
अगेनाछेउमा अडेस लगाउँदै
बाटुलीको गुन्यूको एक पाटो ओढेर
हेरिरहन्छ एकछिन सन्नाटा
क्षणभरको मौनतालाई भङ्ग पार्दै
ऊ भनिरहेछ ः
बूढी, हामीले त गुन्यू ओढ्यौं
गरिब के ओढ्लान् ?

Saipalko 2Bagan 300x230

सैपालको आँगन
कविता संङग्रह बाट लिएको हो

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top