बलिराजा
बलिराजाले नेपालको झण्डा निर्माण गरेका हुन् । सूर्य बंशी राज्यकालमा सूर्य बिम्ब माथि तथा चन्द्रबंशी राज्यकालमा चन्द्र विम्व माथि स्थापित गर्ने चलन बस्यो । पृथ्वीनारायण शाह चन्द्र बंशी भएकाले झण्डामा चन्द्रमालाई माथि अंकित गरिएको योगी नरहरिनाथले पुस्तकमा लेखेका छन् ।
बखत बहादुर शाही
हिन्दू धर्मग्रन्थ अनुसार सृष्टिको रचना भगवान् शिवले कैलाशमा बसेर गरेका थिए । त्यहींबाटै मानव सभ्यताको सुरु भएको मानिन्छ । जुन पहिले खस साम्राज्यको उत्तरी आधारखण्डका रुपमा पनि चिनिन्थ्यो । त्यही क्षेत्र कर्णाली प्रदेशमा नूनको आपुर्ति गर्ने क्षेत्र पनि हो ।
‘देवपुरी हुम्ला ब्रह्मपुरी जुम्ला’ भन्ने त भनाई नै छ । देवपुरी भन्नाले देवताहरुको उत्पति स्थान र ब्रह्मपुरी भन्नाले ब्राह्मणहरुको उत्पत्ति भूमि ।
नरहरिनाथको भनाइ अनुसार व्यञ्जन वर्ण, स्वस्तिक चिन्ह अनि ॐ वर्णको उत्पत्ति पनि कैलासबाटै भएको हो । रल्लिङ गुम्बामा नेपाली भाषामा लिखित ताम्रपत्र भेटिएको थियो । यसरी बुझ्दा भन्न सकिन्छ मन्दिर सबै हुम्लामै थिए । तीनमा पूजा पाठ गर्दा वाचन गरिने मन्त्र र लेखिने अक्षर यतैबाट प्रयोगमा आएका हुनुपर्छ । त्यतिबेला जुम्लाबाट ब्राम्हण आउँथे । तिनलाई पुजारी बनाइन्थ्यो ।
कैलाशपतिको आज्ञा अनुसार देवताहरु कैलाशबाट हुम्लाको बाटो हुँदै आएका र माजा गाउँको, लेखमाजाको हिल्सा डाँडोमा बसेर काम जिम्मेवारी बाँडफाड गर्दै पुजाभोग लिने गरेको भनाई सुनिन्छ । लवासुर र हिल्सोको धामीमा देवता चढेका बेला आखर अर्थात उनीहरुका वाणी सुन्न सकिन्छ । लवासुर कान्छा भाइ थिए । भागहाल्दा वा जिम्मेवारी सुम्पिने क्रममा उनको भाग परेनछ । ‘मेरो भाग खोई’ भनी उनले प्रश्न गर्दा समस्या पर्न गएछ । भाग बाँकी केही नरहे पछि उसलाई न्यायाधिशका रुपमा जिम्मेवारी दिइयो । आजका दिनसम्म पनि यिनलाई न्यायकी भनेर पुज्ने गरिन्छ ।
हिल्सोलाई त्यो ठाउँ राम्रो लागेछ र भनेछन्, ‘म एक छिन खाँणो खेल्छु, तिमीहरु भागहाल्दै गर ।’ उनी खेल्न थालेछन् । खाँडो खेल्ने क्रममा उनले आफ्नो खुट्टा काटेछन् । त्यसपछि ‘तिमीहरु जाऊ म यही बस्छु’ भनेछन् । तत्पश्चात माटी (जमिन) उनको भागमा पर्न गयो । त्यसैले उनलाई मट्टे अर्थात् माटी देवताका रुपमा पूजिन्छ ।
जहाँ राज्यको न्यायभन्दा लवासुरको न्यायमा बिश्वास गर्ने गरियो र आजका दिनसम्म पनि यो विश्वास छ । यता काठमाडौं लगायतका स्थानमा राज्यले जमीन रोक्का गरेझैं उता हुम्लामा देवताको मन्दिरमा जमिनको माटो चढाएर जमीन रोक्का गर्ने गरिन्छ । वनमा चर्न छाडिएका बस्तुभाउ र घरलाई सामान्य चुकुलका भरमा छाडेर जाने गरिन्छ ।
जहाँ सदियौदेखि बौद्ध र हिन्दू धर्मावलम्बीले एउटै मन्दिरमा पुजा गर्छन् । जसका उदाहरण हुन् हुम्लास्थित खार्पूनाथ र रल्लिङ गुम्बा । त्यतिमात्र होइन, सिन्धू नदी अर्थात कर्णाली नदी हुम्लाका प्रत्येक गाँउको जग छोएर बग्ने गरेकी छन् । यसैले देवपुरी हुम्ला भनेको हुनु पर्छ ।
कथा भन्छ– पाँच पाण्डवले जुम्लाको पाण्डव गुफाबाट कैलाश जाने तयारी गरेछन् । त्यसै बखत भिमसेनले कतै आफ्नो शक्ति घट्यो कि भन्ने ठानेर शक्ति नाप्न एउटा ढुंगा उठाएर कैलाशलाई ताकेर हानेछन । त्यो ढुंगा कैलाश पुगेनछ । एक्कासी खार्पुनाथ नजिकैको मारुकोर पहाड बढेर छेकिहाले छ । तैपनि त्यसले पहाडलाई छेडेर अगाडि बढेछ । यो दृश्य देखिनासाथ खार्पुनाथको शक्तिका कारण उक्त ढुंगाको शक्ति सेलाउँदै गएर सिमकोटमा खसेछ । त्यही ठाउँमा अहिले भीमसेन स्कुल र मन्दिर बनाइएको छ । यो रहस्य थाहा पाएपछि पाण्डवहरु खार्पुनाथ आई होमकुण्ड स्थापना गरी कैलाश प्रस्थान गरेछन् ।
जहाँ मानव वस्ती हुन्छ त्यही धर्मका कुरा चल्छन् । धर्मसँगै राज्यसत्ता पनि सञ्चालन हुन जान्छ । त्यसैले कल्यालबंशी बलिराजा र कर्णाली राज्यको कुरा आई रहन्छ । तर यो कुराको गहिरो अध्ययन भैसकेको छैन । त्यस क्षेत्रको इतिहास खोजी गर्नु आवश्यक देखिन्छ । कल्याल राज्यको इतिहास लेखिनु पर्छ ।
रवि गोत्रका कल्याल शाहीहरु सूर्यबंशी हुन् भन्ने नरहरिनाथले उल्लेख गरिसकेका छन् । तर यी रवि ऋषीका सन्तान हुन् या सूर्य देवका, कतै उल्लेख छैन । कल्याल वंशीहरु आफूलाई विष्णुका सन्तान ठान्छन् । ‘कालो कल्याल’ भन्ने उखान नै छ । कल्यालहरु प्रायः कालो वर्णका हुन्छन् । पुराणमा वलिराजालाई बिष्णुले धर्तीमा बसालेका हुन् पनि भन्ने गरिन्छ । विष्णु कालोवर्णका भएका हुँदा उनका सन्तान पनि कालो वर्णकै भएको एक पक्षको तर्क छ ।
धामी झाँक्रीमा देवता चढ्दा भन्ने गर्छन्, ‘कल्याल र मेरो बीचको साँठगाठ हो भनि जान्नू ।’ कालो वर्ण र धामी झाँक्रीले भनेको कुरा मिल्न गए तापनि पुराणमा उल्लिखित बलिराजा फरक हुन । ती बलिराजा निकै दानी भएको र स्वर्ग पृथ्वी समेत दान गरेको कहावत सुन्नमा आउछ । ती एउटा मिथक मात्र हुन् ।
कल्याल भाइहरु सबै हुम्लाको दार्मा देउली डाँडाबाट छुट्टिएका हुन् भनिन्छ । अर्कोतर्फ मुगुको कालै गाउँ निवासी रवि बंशी उत्तिमका छोरा बलिराज जुम्ला राज्यका संस्थापक मानिन्छन् । कालै गाउँका भएकाले यिनका सन्तालाई कल्याल ठकुरी भनियो भन्ने भनाइ पनि छ ।
मलै बमले जीवनकालमै छोराछोरीका लागि राज्य टुक्राटुक्रा पारेर अंशबण्डा गरे । र बृहत जुम्ला राज्य कल्याल वंशी ज्वाई बलिराजको भागमा पर्न गयो भन्ने एकथरिको मत छ । जुन कुरालाई पुष्टि गर्ने आधारहरु केही पनि भेटिदैनन् ।
नरहरिनाथका अनुसार बलिराजा सिंजा साम्राज्यका अन्तिम शासक अभय मल्लका धर्मपुत्रका रुपमा चिनिन्छन् । अभयकै समयमा मलै बमले कालीकोट मान्माको खाँडाचक्रमा स्वतन्त्र राज्य खडा गरिसकेका थिए । उता जुम्ला क्षेत्रमा पनि दख्खल गर्ने उद्देश्यले बमले माइला छोरा मेदनीलाई वि.सं. १४५०मा जुम्लाको मुख्तियार बनाई पठाए । यता मलैको षड्यन्त्रबाट जुम्ला राज्यको सुरक्षा गर्न अभयले बलीराजलाई खटाए । बलिराजा जुम्ला नपुग्दै उता मलैको आक्रमणका कारण अभय सिंजाबाट भागेर पलायन भइसकेका थिए । मलैले निकै प्रयास गर्दा पनि बलिराजलाई जुम्लाबाट हटाउन सकेनन् । बिसं १४५५ सम्म पुग्दा परिस्थितिजन्य कारणले गर्दा बलिराज स्वयं जुम्लाका राजा बन्न पुगे ।
बलिराजा चतुर खेलाडी थिए । उनले मेदिनीकी छोरी माल्लासँग विवाह गरे । बलिराजलाई सफल तुल्याउन रानी मल्लादेवीको ठूलो भूमिका रह्यो । अन्तमा मेदिनीको सहयोग र दुवैको आदर्शलाई पालना गर्दै राज्य स्थापना हुने भयो । तिनै बलिराजाले चन्द्र बंशी र सूर्यबंशी झण्डालाई जोडेर एउटै झण्डा वनाइयो ।
अरु राज्यलाई लडेर अधिनमा ल्याउनु भन्दा संरक्षणको भूमिका बहन गरेपछि अरु बाइसे चैविसे राज्यले तिरो तिर्न थाले । तिरो उठाउन बाइसे–चैविसे राज्यमा जुम्ला राज्यको झण्डा गाडेर सानो टुकुटी बस्न थाल्यो । अन्तमा त्यो नै नेपलको झण्डा हुन पुग्यो ।
सूर्य बंशी राज्यकालमा सूर्य बिम्ब माथि तथा चन्द्रबंशी राज्यकालमा चन्द्र विम्व माथि स्थापित गर्ने चलन बस्यो । पृथ्वीनारायण शाह चन्द्र बंशी भएकाले झण्डामा चन्द्रमालाई माथि अंकित गरिएको कुरा नरहरिनाथले आफ्नो पुस्तक हाम्रो मौलिकता हाम्रो टोपीमा लेखेका छन् ।
बलिराजले नेपालको झण्डा निर्माण मात्र गरेनन्, राज्य विशाल बनाउने अभियानमा पनि लागे । कयौं ठाउँ जिते पनि । त्यही बेला राज्यका पहरेदार सेनालाई खुसीयाली मनाउन विदा दिइयो । सेनाहरु रमाइलो गर्नलाई खाद्यान्न जुटाउन घरघरमा पुग्न थाले । र भन्न थाले– हामी त्यसै आएका हैनांै, बलिराजाले पठाएका ।
यति सुनेपछि सबैले दिन थाले छन् । तिहारका बेला देउसी खेल्नेहरुले हामी त्यसै आएनौं, बलिराजाले पठाए भन्ने गरेका हुन् ।
बलिराजाले नेपाली भाषा, संस्कृति, राष्ट्रिय झण्डा मात्र छाडेनन् । कल्याली शब्द पनि छाडेर गए । कल्यालीको अर्थ हुन्छ मोज, सुख, शयल, कसैको डर त्रास नहुनु । अहिले पनि कर्णाली प्रदेशमा कसैलाई निडर भएर मस्तिका साथ हिँडेको देख्दा भन्ने गरिन्छ– तेरो त कल्याली छ है ।